Saturday, April 8, 2017

चिकित्सा क्षेत्र, राजनिती र समाज

चिकित्सा पेशा अभ्यास गर्नेहरु भगवान होइनन् ।उनिहरुको सिप भने जरुर जिवन र मृत्युजस्ता अलौकिक कुरासंग तालुकात राख्दछ।समाजले विकास क्रममा उनिहरुलाइ कहिले भगवान, कहिले सेवा प्रदायक(पसले) र कहिलेकाहि राक्षस बनाइदिने गरेको छ । नेपालमा मेडिकल शिक्षामा बिकास संगै धेरै चुनौती पनि थपिएका छन्।अहिले मेडिकल क्षेत्र ब्यापारकै समरुपी भएर अगाडि बढिरहेछ ।मेडिकल शिक्षामा र चिकित्सकिय सेवा दुबैमा ब्यापारिक सिद्दान्त फस्टाएको देखिन्छ।ब्यापार गर्नको लागि सायद उत्कृष्ट र सहज अर्थलाभ हुने ठाउं भएका कारणले होला नाम्ची ब्यापारी देखि ठुलाबडा नेताले सम्म यसमा हात हालेका छन्।स्वास्थ्यमा लगानी सेवा गर्नैका लागि मात्र भनेर गर्नेहरु छैनन् भन्दापनि हुन्छ।सबैभन्दा सहज अर्थलाभ हुने स्वास्थ्यको लगानी भनेको अहिले मेडिकल कलेज खोल्नु हो।मेडिकल कलेज खोलिसकेपछि एउटा टर्सियरी अस्पताललाइ चाहिने लगानी गरेपुग्छ, त्यसमा हल्काफुल्का फ्याकल्टि र हल्काफुल्का संरचना थपिदिएर मेडिकल कलेज बनाएर एउटै बिद्यार्थीसंग करोडौं असुल्दा आजको भोली नै आर्थिक कायापलटी गर्ने अभिलाशा बोक्नेहरुको कमि छैन।त्यसमाथी एउटै श्रोत लगानीबाट अन्य बिधा जस्तै नर्सिड़,हेल्थ असिस्टेन्ट,सिएमए,फार्मेसी,ल्याब,रेडियोग्राफी आदिको शुल्कबाट पनि मनग्य आम्दानी हुन्छ।मेडिकल कलेजहरुलाइ पैसा भए पुग्छ बिद्यार्थीको काबिलियत संग कुनै सरोकार छैन भन्ने कुराको पछिल्लो उदाहरण मेडिकल कलेजकै चलखेलमा प्रवेश परिक्षाको प्रश्नपत्र आउट गरिएको र प्रवेश परिक्षामा चिट चोराइएक घटनाहरुको उदाहरण दिन सकिन्छ जुन मिडियामा पनि आएका थिए।अझ न्युनतम श्रोत क्षमता नभएकाहरुले कहिले नक्कली बिरामी तथा कहिले खडेबाबा प्रोफेसर उपस्थित गराएर मेडिकल कलेजको अनुमती प्राप्त गर्ने गरेको सबैलाइ थाहै भइसकेको छ। स्वास्थ्य क्षेत्रको जनशक्ती उत्पादन गर्ने थलोको हालत यस्तो छ ! यसरी निराधार उत्पादित जनशक्तीले भोली उत्कृष्ट सेवा कदापी दिन सक्दैनन्।यो त भयो मेडिकल शिक्षाको ब्यापार अब कुरा गरौं स्वास्थ्य सेवामा ब्यापारिकरणको।देशमा रहेका सरकारी स्वास्थ्य संस्था बाहेकका अन्य स्वास्थ्यसंस्था मुलत ब्यापारिक नै हुन् कुनै न कुनै हिशाबले भन्दा फरक पर्दैन।तर सरकारी स्वास्थ्य संस्थामा काम गर्नेहरुले सरकारी संस्थालाइ बिज्ञापन थलो बनाइ निजीमा ब्यापारमुखी सेवा दिने कुराको शाश्वतता छर्लड़ छ र सरकार स्वयंले प्राइभेट प्राक्टिस अनुमतीको नाममा यसलाइ सघाउन भुमिका खेलेको छ।सरकारले यो बुझ्नु अत्यावश्यक छ की स्वास्थ्य क्षेत्रको बिध्यमान ब्यवहारिक भ्रष्टचारको जड प्रराइभेट प्राक्टिस् हो र आर्थिक भ्रष्टचारको जड दण्डहिनता।
अन्य निजी संस्थाको कुरा गर्दा यस्तो भान हुन्छ की ब्यापार भन्दा पनि उनिहरुले दिने स्वास्थ्य सेवा अबैध ब्यापार भइसकेको छ।यसको अबैधतताको उदाहरणको रुपमा यम्बुलेन्स ड्राइभरलाई एउटा बिरामी लिएर आएको ३००० देखि ५००० सम्म दिने कमिसन प्रथालाइ हेर्न सकिन्छ।अर्को उदाहरण भनेको गाउंघरका स्वास्थ्यसंस्थालाइ एक बिरामी रिफर गरेको १०-१५ प्रतिसत कमिसन दिने प्रचलन हो।गजबको कुरा त के छ भने महिला स्वास्थ्यमा काम गरिरहेको एउटा ख्याती कमाएको संस्थाले एउटा औषधीबाट गरिने गर्भपतनको रिफरल कमिसन(रिफर गर्ने स्वास्थ्यकर्मीलाइ) रु २०० दिने रहेछ र निशुल्क भनिएको गर्भपतन सेवा शुल्कको नाममा  रु१९ सय जति लिदो रहेछ।ठुला अस्पताल भनाउदाहरु बेलगाम ओपिडी,इमरजेनसी,ल्याव र अपरेसन शुल्क लिन्छन्।उदाहरणको रुपमा बिशेषज्ञ चिकित्सिय जाचंको लागि ४००-१००० सम्म लिने चलन छ ।एउटा एपेन्डिक्स को सल्यक्रियाको लागि १ लाख सम्म लिने कुरा सरकार देखि समाजसम्मलाइ पचिसक्यो। स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको यस्तो बेहाल स्थिती रहदा सरकारले स्वास्थ्य सेवालाइ मौलिक अधिकारको रुपमा सबिंधानमा राखेर र आफै मुखदर्शक मुद्रामा यस्तो चटारो हेरेर बस्नुले गम्भिर प्रश्न खडा गर्छ।धन्यबाद दिन चाहन्छु म माननिय स्वास्थ्य मन्त्री ज्युलाइ, सरकारका पछिल्ला कदमहरु लोकप्रिय मात्रै हैन अपरिहार्य र सरहानिय पनि थिए तर यस्ता प्राथमिक समस्याको हल गर्न पहिले जरुरी हुन्छ।नत्र फर्स्ट एड (प्राथमिक उपचार)नै नगरी अपरेसन गर्न खोज्दा जे हुन्छ त्यही नतिजा समग्र स्वास्थ्य क्षेत्रको नबनोस्।देशले प्रथम पटक एउटा सक्षम स्वास्थ्य मन्त्री पाएको छ जसले देखे सुनेका समस्याहरु हल गरिरहनु भएको छ।उहांको लागि स्वास्थ्य नयां क्षेत्र हो विना अनुभवको।त्यसैले स्वास्थ्यका समस्याहरु यसरी बिचार मा अभिब्यक्त गर्दा कथमकदाचित ठाउंमै पुग्यो भने यसको हल जरुर निस्किएला भन्ने अभिप्रायले यो लेखिएको हो।

अब कुरा गरौं हाम्रो समाजको।हाम्रो समाज पनि गतिमान छ अनगिन्ती वक्र रेखामा गतिमान। देशको समग्र स्थान विश्व श्रेणीमा तलतिर किन छ भन्ने कुरा कुनै एक समाजको आलोचनात्मक अध्ययन गरे स्पष्ट हुन्छ।भुपी शेरचनले सायद साच्चै भनेथे हामी कस्तो छौं भनेर आफ्नो 'हामी' भन्ने कबितामा त्यसैको सारासं बोकेको छ हाम्रो समाजले।अरु त के कुरा पढेलेखेकाहरुको जमात नै  कुसंस्कार र कुरितीको दासी भएको छ।स्वास्थ्यमा यसको असर कस्तो छ भन्दा- अझैपनि हाम्रो समाज चिकित्सा विज्ञानलाइ नभइ धामीझाक्री र फारफुकमा विश्वास राख्छ र सो विश्वास शिक्षितहरुमा पनि प्रसस्तै छ।गाउघरका हुनेखानेहरुलाइ एउटा दम्भ छ भन्छन् काठमाडौं जाने वर्ग हौं हामी, यहां त बिचार गर्न मात्रै आएको।फेरि काठमाडौंकाहरुलाइ अर्कै दम्भ छ, दिल्लीको।नेताका बिदेश दम्भको त कुरै नगरौं यो जगजायर नै छ।हाम्रो समाज भेडाको समुह जस्तो लादछ नाइकेको पछाडि एकोहोरो एकहुलमा लाग्ने।समाज चेतनशील भएपो देशले कोल्टो फेर्छ नत्र कुनै एकको नाकेडोरीमा दुइचार हल अघि बढ्ला त्यसपछि जहा को तही।अस्थिर राजनैतिक शाशकहरुको नाकेडोरीले दइचार हल अघि बढेको यो हाम्रो समाजको गति अनगिन्ती बक्र रेखा पछ्याउदै अघि बढिरहेछ।स्वास्थ्यमा हाम्रो प्रगति पनि त्यस्तै छ।कुरिती, कुसंस्कार, भौगोलिक बिकटता, सेवाको केन्द्रिकरण आदि माथि थपिएको अबैध स्वास्थ्य ब्यापारको मारले गरिब बिरामी पिल्सिन बाध्य छन्।सरकार अबैध ब्यापारलाइ नजरअन्दाज गर्दै मौलिक अधिकारको रुपमा स्वास्थ्य सेवालाइ पन्नामा लेखिरहेछ।सरकारलाइ प्रतिनिधीत्व गर्ने कर्मचारी र नेताहरु स्वयं यो बैध भनिएको अबैध ब्यापारमा सामेल छन्।कति आफ्नो राज्य पहुंचकै आधारमा नितिनियम, अनुशासन र नैतिकतालाइ कुल्चिएर राज्यशक्तीको दुरुपयोग गरी बैध तरिकाले अबैध धन्दा गर्न तल्लिन छन्।डा गोबिन्द केसीका पछिल्ला आन्दोलनहरु यसैका लागि भएका थिए।
हामी एक एक गरेर परिबर्तित हुनु जरुरी छ। स्वास्थ्यकर्मी, राजनितिज्ञ र समाज तबमात्र देशको स्वास्थ्य स्थितीले कोल्टो फेर्छ।नत्र सबै कोसिस बालुवामा पानी हाले जस्तै हुनेछन्।
डा अशोक चापागाईं
पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र,तनहुॅ।

No comments:

Post a Comment