तनहुंमा कार्यरत रहदा हामी भ्यासेक्टोमी(पुरुष बन्ध्याकरण) क्याम्प चलाउथ्यौं।त्यो शल्यकृया यति
हानिरहत थियो कि त्यसको नामै 'नो स्काल्पल भायासेक्टोमी' थियो अर्थात नचिरिकन सानो प्वाल बाट गरिने बन्धायाकरण।म सोच्थे मेडिकल साइन्समा सबै अपरेशनहरु नचिरिकन सम्भव हुने भए बिरामीले कति फाइदा पाउथे होलान।तर त्यसो हुन पुर्ण सम्भव पनि थिएन।विश्व जगतमा सानो प्वालको ठाउंमा ठुलो प्वाल पारेर दुरबिनबाट गरिने अपरेशनहरुले ख्याती पाइरहेका बेला भने नेपालमा अधिकांश ठाउमा धेरै चिरेर नै अपरेशन गरिने गरिन्छ यो हाम्रो साधन श्रोतको पर्याप्तताको बाध्यता हो।त्यसमाथी बाहिर छालामा सानो छेद पारेर मसिना पाइप र तार रेडियोलोजी प्रबिधी(भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआइ, एनजिओग्राम आदि)को साहयताले निश्चित अंग सम्म पुर्याइ सो अंगको उपचार गरिने प्रबिधीले विश्व मेडिकल जगत लाइनै एक्साइटेड बनाइरहेको छ तर नेपालमा भने यो प्रबिधी को बिकासमा कम प्रयास भएको देखिन्छ।यो उपचार प्रबिधीलाइ इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ।
आजको युगमा शरिर भित्रका ट्युमरलाई बिना चिरफार उपचार गर्न सकिन्छ।उदाहरणको लागि इमेजिङको सहायताले पाठेघरको फाइब्रोइड ट्युमरलाई काछमा सानो क्षेद पारेर काछको रक्त नलीमा तार र पाइप/क्याथेटर छिराएर पाठेघरको ट्युमर भएको रक्तनली सम्म पुगिन्छ र ति रक्त नलिहरुलाई इम्बोलाइज गरेर बन्द गरिन्छ।अनि ट्युमर आफै मर्दै/सानो हुदै जान्छ ।
मष्तिष्कघात, हृदयघात,मुटु,धमिनी र शिराका समस्याहरु यहि प्रबिधीको सहयोगले बिना चिरफार उपचार गर्न सम्भव छ।क्यान्सरको उपचारमा केमोथेरापीले पुरै शरिरलाई कतिको असर गर्छ हामी धेरैलाइ थाह भएको कुरा हो तर इन्टरभेन्सनल रेडियोलोजीको मद्दतले निश्चित अंगमा मात्र केमोथेराफी दिन मिल्ने हुंदा नकारात्मक असर सबै कम हुन्छ र उपचार पनि थप प्रभाबकारी हुन्छ।शरिरभित्र कतै रगत बगिरहेको छ भने त्यसको उपचार बिना चिरफार अन्यत्र असर नगरिकन रगत बग्न बन्द गर्न सकिन्छ।त्यस्तै भित्री अंगका ट्युमरहरुलाइ इन्टरभेन्सनल रेडियोलोजीको सहायताले रेडियो फ्रिक्युन्सी तथा क्रायोथेरापीको प्रयोगबाट पुर्ण उपचार गर्न सकिन्छ।त्यस्तै भित्री अंगमा पिप जम्मा भएको छ भने पनि इमेजिङको सहायतामा पाइप/क्याथेटर द्वारा बिना चिरफार पिपलाई बाहिर निकाल्न सकिन्छ।
इन्टरभेन्सनल रेडियोलोजी भनेको 21 औ शताब्दीको नयां उपचार प्रबिधी हो।साच्चै नै यो जादुमय छ।मलाई स्वास्थ्यकर्मी, नातेदार अनि साथीभाईहरु सबैले गुनासो सहितको प्रश्न गर्नुहुन्छ, तपाईले MD/MS प्रबेश परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर पनि किन रेडियोलोजीष्ट अर्थात बिरामीसंग प्रतक्ष्य साक्षत्कार नगर्ने चिकित्सक बन्ने बिषय रोज्नुभयो,अरु बिषय किन नलिनुभएको।हुन त ठिकै हो चिकित्सक भएर म पनि केहि अघि सम्म यहि सोच्दथे।तर जतिबेला म दुर्गममा सेवा गरिरहेको थिए मेरी आमा घरमा बिरामी पर्नु भयो, उहालाइ पेट दुख्ने, बान्ता हुने समस्या भएको थियो।टेलिफोनमै भरतपुर अस्पताल चेकजांचको लागि लग्न सल्लाह दिए।अस्पतालको चेकजांच र निदान पछि औषधी सहित आमा घर जानु भयो तर आमाको लक्षण सन्चो भएन।तेश्रो दिन मलाई आफु धेरै आतिएको र जस्सरी भएपनि घर आउन भन्नु भयो।म उहांलाई अस्पताल जादै गर्नु, म त्यतै आउछु भन्दै चितवन हानिए।तहा चिकित्सकको सरसल्लाहले मेडिकल वार्डमा भर्ना गरिएको रहेछ।पछि आमाको अवस्था हेरेपछि कतै एपेन्डिसाइटिस पो हो कि जस्तो लाग्यो तर एकिन गर्न कठिन थियो किनकी भिडियो एक्सरे तथा रगत लगाएतका शुरुवाती रिपोर्टहरु सबै सामान्य थिए ।तहा कार्यरत चिकित्सकहरुसंग सल्लाह गरियो त्यसपछि सिटी स्क्यान गर्ने निर्णय भयो। नभन्दै सिटी स्क्यानमा एपेन्डिसाइटिस भएको र तत्पश्चात एपेन्डिक्स फुटेको देखियो।त्यसपछि तुरुन्त आमाको अपरेशन भयो।र सबै राम्रै भयो।यो घटनाले मलाई बेस्सरी हल्लायो।उपचार गर्ने चिकित्सक हाम्रो शरिरको दिमाग हुन् भने आंखा भनेकै रेडियोलोजिष्ट हुन्।त्यसैले रेडियोलोजीष्टहरु बिरामीको प्रतक्ष्य साक्षत्कारमा आउन नपरे पनि जसरी आखांले दिमागलाई नियन्त्रण गर्छ त्यसरी नै उपचार गर्ने चिकित्सकको उपचारलाइ नियन्त्रण गरिरहेका हुन्छन् भन्ने कुरा मैले भन्दा बढि कस्ले बुझ्न सक्थ्यो र? उपचारमा सबैको हात हुन्छ।उपचार/अपरेसन गर्ने चिकित्सक देखी नर्स,पारामेडिक्स,ल्याब कर्मचारी,रेडियोग्राफर सबै।त्यसैले कसैलाई सानो र ठुलो देख्नु दृष्टिभ्रम हो।तरपनि यो घटना पश्चात एउटा कुशल रेडियोलोजिष्ट बनेर रोग निदान तथा उपचारलाई सबल बनाउने चाहना मेरो मनमा बिस्तारै पलाउन थाल्यो।फेरि आफु सर्जरीमा इन्ट्रेष्ट भएको मान्छे त्यसैले भबिष्यमा पश्चाताप पो हुन्छ की भन्ने भय थियो।तर बुझ्दै जादा इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गर्न सकिने कुरा र इन्टरभेन्सनल रेडियोलोजिको विश्व मेडिकल जगतमा ब्याप्त क्रेजले मलाइ सहजै रेडियोलोजी बिषयतिर आकर्षित गर्यो।अर्थात रेडियोलोजी मा स्पेसियलाइजेसन गरेपछि मात्र इन्टरभेन्सनल रेडियोलोजीमा सुपरस्पेसियलाइजेसन गर्न सकिन्छ। त्यसैले बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा प्रथम पाइला स्वरुप रेडियोलोजी बिषय अध्ययन गर्ने निधो गरियो।
विश्व मेडिकल जगतमा इन्टरभेन्सनल रेडियोलोजीले चमत्कारी आयाम थप्दै गइरहेको छ।नेपालमा यो शुरुवाती अवस्थामा छ।हाम्रो जेनेरेसन रेडियोलोजी अध्ययन सकेर बहिर आउन्जेल आशा गरौं यसको उल्लेख्य बिकास स्वदेस मै हुनेछ।र बिरामी ले बिना उच्च जोखिमको गुणस्तरिय सेवा पाउन सक्नेछन्।
डा.अशोक चापागाईं
भरतपुर अस्पताल, चितवन